देश राजनीति

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहभागी कार्यक्रमस्थल नजिकै बिस्फोट

सुर्खेत, साउन २९-कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहभागी एक कार्यक्रमस्थल नजिकै बुधबार बम विस्फोट भएको छ। कालिकोटको पचालझरना गाउँपालिकाको गाउँसभामा सम्बोधन गरिरहेको बेला कार्यक्रम स्थलनजिकै दुई पटक विस्फोट भएको हो।

मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले कार्यक्रम स्थल भन्दा केही पर विस्फोटको आवाज सुनिएको जानकारी दिए। विस्फोटबाट मानवीय क्षति भएको छैन। विस्फोट विप्लव समूहले गराएको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ। मुख्यमन्त्री शाही एक साताका लागि गृहजिल्ला कालिकोटको भ्रमणमा छन्। उनको टोलीलाई त्रास सिर्जना गर्ने उद्देश्यले अराजक समुहले वम विष्फोट गराएको स्वकीय सचिव सिंहले बताए।

विस्फोटपछि पनि मुख्यमन्त्री शाहीको पुर्वनिर्धारित सवै कार्यक्रमहरु सहज रुपमा सञ्चालन हुने प्रमुख स्वकीय सचिव सिंहले जानकारी दिए। मुख्यमन्त्री शाही गाउँपालिकाको गाउँसभा र दक्षिण एशियाकै अग्लो पचालझरनाकोे पर्यटन प्रवर्द्धनका लागि भइरहेका पूर्वाधार निर्माणका कामहरुको अनुगमन गर्न मंगलबार पचाल झरना गएका थिए। मुख्यमन्त्री शाही कालिकोट गएको बेला यसअघि पनि बम विस्फोट भएको थियो।