देश राजनीति

नेकपा सचिवालय बैठक स्थगित, स्कुल विभागमा सहमति हुन् सकेन

काठमाडौँ, साउन २९-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको सचिवालय बैठक भोलिसम्मका लागि स्थगित भएको छ। बैठकअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको छलफलमा विवादीत विषयमा सहमति जुट्न नसकेपछि आज बैठक नबस्ने भएको हो ।

स्कुल विभागमा विवाद कायमै रहेपछि त्यसमा सहमति जुटाउन अध्यक्षद्वयबीचमा बिहीबार बालुवाटारमा छलफल भएको थियो। स्कुल विभागमा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलको दाबी कायम रहेपछि अध्यक्षद्वय सहमति जुटाउन छलफलमा जुटेका थियो। तर, पछिल्लो समय अध्यक्षद्वयबीचमै विवाद भएको छ।

स्रोतका अनुसार प्रधानमन्त्री ओली स्कुल विभाग नेता पोखरेललाई दिने अडानमा छन् भने अध्यक्ष प्रचण्ड श्रेष्ठको हकमा सहमति जुट्न नसके अध्यक्षकै मातहत राख्न चाहन्छन्। यसबारे अध्यक्षद्वयले मंगलबार सचिवालयका अन्य सदस्यसँग पनि छुट्टाछुट्टै परामर्श गरेका थिए।

तर, सचिवालयका अन्य सदस्यहरुले स्कुल विभागको विवाद टुंग्याउने जिम्मा अध्यक्षद्वयलाई दिएका छन्। स्कुल विभागमा स्थायी कमिटीका अन्य नेताहरुले पनि दावी गरेका छन्। सचिवालयका एक नेताका अनुसार सचिवालयका नेता भूमिकाबिहीन बनेर स्थायी कमिटीका नेतालाई स्कुल विभागको जिम्मेवारी दिने सम्भावना भने कम छ। उनका अनुसार ती नेतालाई स्कुल विभागको उपप्रमुख बनाउनेबारे छलफल भएको छ।

त्यस्तै, जनवर्गीय संगठनको नेतृत्वबारे पूर्व एमालेमा विवाद देखिएपछि आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको बताइएको छ।