देश

ट्राफिक प्रहरीको गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

काठमाडौँ, साउन २९-महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट ड्युटीमा निस्केको प्रहरी भ्यानले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ। महाशाखाबाट मंगलबार राति ११ बजे निस्केको बा १ झ ७८६६ नम्बरको भ्यानले ठक्कर दिँदा परिचय नखुलेका एक पुरुषको मृत्यु भएको हो।

कोटेश्वर चोकनजिकै ठक्कर दिँदा घाइते भएका उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा बुधबार बिहान ९ बजे मृत्यु भएको महानगरीय प्रहरी परिसरले जनाएको छ। गाडी र चालकलाई बानेश्वर वृत्तले नियन्त्रणमा लिएर अनुसन्धान थालेको परिसर प्रवक्ता डिएसपी होविन्द्र बोगटीले बताए।

ती व्यक्तिबाट स्पष्ट परिचय खुल्ने कुनै पनि कागजात फेला नपरेको बोगटीले बताए। ‘आकाशे पुलमूनि कपडा र बोरा भेटिएका छन्, ती व्यक्ति त्यहीँ बसिरहेको हुनसक्ने अनुमान छ,’ बोगटीले भने।