देश राजनीति

स्कुल विभागमा ओली–प्रचण्डको अडान कायमै, बालुवाटारमा छलफल हुँदै

काठमाडौँ, साउन २९-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ छलफलमा जुटेका छन्।  स्कुल विभागमा विवाद कायमै रहेपछि त्यसमा सहमति जुटाउन अध्यक्षद्वयबीचमा बालुवाटारमा छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ। स्कुल विभागमा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलको दाबी कायम रहेपछि अध्यक्षद्वय सहमति जुटाउन छलफलमा जुटेका हुन्। तर, पछिल्लो समय अध्यक्षद्वयबीचमै विवाद भएको छ। 

स्रोतका अनुसार प्रधानमन्त्री ओली स्कुल विभाग नेता पोखरेललाई दिने अडानमा छन् भने अध्यक्ष प्रचण्ड श्रेष्ठको हकमा सहमति जुट्न नसके अध्यक्षकै मातहत राख्न चाहन्छन्। यसबारे अध्यक्षद्वयले मंगलबार सचिवालयका अन्य सदस्यसँग पनि छुट्टाछुट्टै परामर्श गरेका थिए। 

तर, सचिवालयका अन्य सदस्यहरुले स्कुल विभागको विवाद टुंग्याउने जिम्मा अध्यक्षद्वयलाई दिएका छन्। स्कुल विभागमा स्थायी कमिटीका अन्य नेताहरुले पनि दावी गरेका छन्। सचिवालयका एक नेताका अनुसार सचिवालयका नेता भूमिकाबिहीन बनेर स्थायी कमिटीका नेतालाई स्कुल विभागको जिम्मेवारी दिने सम्भावना भने कम छ। 

उनका अनुसार ती नेतालाई स्कुल विभागको उपप्रमुख बनाउनेबारे छलफल भएको छ। अध्यक्षद्वबीचमा स्कुल विभागमा सहमति जुटेमात्रै आज बस्ने सचिवालय बैठकले कार्यविभाजनका सवै काम टुंग्याउने छ। नेकपामा ३३ (नीति प्रतिष्ठान सहित) विभाग छन्। स्कूल विभाग बाहेक अन्य विभागमा भने मोटामोटी सहमति भैकेको छ।