देश

सुनको मूल्य बढेर इतिहासकै नयाँ रेकर्ड

काठमाडौं, साउन २८-तीन दिनसम्म स्थिर सुनको मूल्य मंगलबार पुनः एक हजारले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी संघले मंगलबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ७१ हजार रुपैयाँ तोकेको छ । त्यस्तै तेजाबी सुनको मूल्य पनि तोलामा ७० हजार ७ सय पुगेको छ भने चाँदीको प्रतितोला मूल्य ८३५ रुपैयाँ कायम भएको छ।

गत शुक्रबारको तुलनामा छापावल र तेजावी सुनको मूल्य प्रतितोला एक हजारले वृद्धि भएको छ भने चाँदीमा पनि प्रतितोला १० रुपैयाँले मूल्य बढेको छ । पछिल्लो एक महिनामा सुनको मूल्य प्रतितोला ६ हजार ३ सय रुपैयाँ बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार अहिले दिनमा एक किलो पनि सुन बिक्री हुँदैन।

यसअघि सुन चाँदी व्यवसायीहले बैंकबाट दैनिक २० केजीसम्म सुन उठाउँथे। तर सुन किन्ने ग्राहक घट्दा बैंकमा हाल करिब ७ सय किलो सुन बैंकमा थुप्रिएको छ। सरकारले काँचो सुन आयात र कारोबारको जिम्मा वाणिज्य बैंकहरुलाई मात्र दिएको छ।

बैंकरहरुले सुन खरिदका लागि व्यवसायीसँग छलफल पनि गरेका छन्। तर बजारमा कारोबार नै नभएपछि समस्या भएको वरिष्ठ उपाध्यक्ष शाक्यले बताए। व्यवसायीहरुका अनुसार बढ्दो मूल्यले सुन धेरै कारोबार हुने पर्व तीजलाई समेत प्रभावित पार्ने सम्भावना छ।

Featured