देश

‘२०१८ की मिस नेपाल अर्थ’ प्रिया सिग्देल साझा पार्टीमा प्रवेश

काठमाडौं, साउन २६-‘मिस नेपाल अर्थ २०१८’ कि २४ वर्षीय प्रिया सिग्देललाई साझा पार्टीले केन्द्रीय सदस्यमा मनोनयन गरेको छ। आइतबार बसेको केन्द्रीय समितिको बैठकले सिग्देललाई केन्द्रीय सदस्यका रूपमा अनुमोदन गरेको प्रवक्ता सूर्यराज आचार्यले बताए।

‘डिभेलप्मेण्ट स्टडिज’मा स्नातक गरेकी प्रिया पिछडिएका महिलाहरूको सशक्तिकरणका लागि काम गर्ने सामाजिक संस्था हात्तीहात्तीकी संस्थापक अध्यक्ष पनि हुन्। उनले फिलिपिन्समा भएको मिस अर्थमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् र ‘युवा चेन्ज मेकर’को रूपमा स्विट्जरलण्ड, भारत र वंगलादेशमा आफ्ना प्रस्तुतिहरू दिएकी छन्।

सिग्देल भन्छिन्, ‘मिस नेपालको प्रमुख तीन टाइटल विजेता भएपछि धेरैको अपेक्षा म अब सिने कलाकार, मोडल, फेशन डिजाइनर, टेलिभिजन या अन्य कार्यक्रमको प्रस्तोता नै हुने होला भन्ने हुँदोरहेछ। तर मलाई चाहिँ भित्रैदेखि राजनीतिमा लागेर समाजको बृहत्तर रूपान्तरणमा भूमिका खेल्न रहर छ। अबको नेपाल कस्तो बनाउने भन्ने निर्णयमा युवा पुस्ताको सक्रिय सहभागिता अनिवार्य छ। अग्रज पुस्तासँग हातेमालो गर्दै नेपाली युवाको सपना साकार पार्ने अभियानमा सरिक हुन पाउँदा गर्वको अनुभूति गरेको छु।’