विदेश

भारतीय टेलिभिजन च्यानल एनडीटीवीका दुई संस्थापक विदेश जान लागेको अवस्थामा एयरपोर्टबाट पक्राउ

काठमाडौं, एजेन्सी, साउन २५-एनडीटीभीका संस्थापक प्रणय रोय र उनकी श्रीमती राधिका रोयलाई विदेश जान लागेको अवस्थामा शुक्रबार मुम्बईको विमानस्थलमा पक्राउ गरिएको छ।

भारतको केन्द्रीय अनुसन्धान व्युरो(सीबीआई)ले जारी गरेको ‘लुकआउट सर्कुलर(एलओसी)’को आधारमा उनीहरुलाई पक्राउ गरिएको हो।

एनडीटीभीले भने दुई संस्थापकको पक्राउलाई मिडियाका लागि चेतावनी भएको बताएको छ।

च्यानलले जारी गरेको एउटा बयानमा भनिएको छ, ‘मिडियालाई सम्पूर्ण रुपमा नझुकाएसम्म उनीहरु रोकिनेवाला छैनन्। एनडीटिभीको संस्थापक राधिका र प्रणय रोयलाई आज देशबाहिर जान रोकिँदा मिडिया नियमावली उल्लंघन गरिएको छ।’

मिडिया रिपोर्टहरुका अनुसार रोय दम्पत्ति केन्याको राजधानी नैरोवी जाँदै थिए। एनडीटीभीका अनुसार यी दुईलाई ‘दुई वर्ष पुरानो झुटो र निराधार भ्रष्टाचार मुद्दाका आधारमा रोकिएको हो।’

सीबीआई अधिकारीले बताए अनुसार आईसीआईसीआई बैंकसँग सम्बन्धित जालसाजीसम्बन्धी मुद्दामा अनुसन्धान चलिरहेकाले उनीहरु विरुद्ध एलओसी जारी गरिएको थियो। दुवैलाई यही निर्देशनको आधारमा देश छाड्न रोकिएको थियो। एलओसी कुनै भारतीय नागरिकलाई देश छाड्न रोक्नको लागि जारी गरिन्छ। तर यसलाई व्यक्तिलाई हिरासतमा लिनको लागि प्रयोग गर्न सकिँदैन।

शुक्रबार अधिकारीले चलाएको कारबाहीमा अदालतलाई जानकारी नगराइएको एनडीटीभीको आरोप छ। उनीहरु विरुद्ध लागेको भ्रष्टचारको मुद्दा अदालतमा विचाराधीन छ।

सन् २०१७ जुनमा बैङ्क जालसाजी गरेको आरोपमा प्रणय रोयको घरमा सीबीआईले छापा मारेको थियो। त्यस मुद्दाविरुद्ध प्रणयले अदालतमा पुनरावेदन दिएपछि दुई वर्षदेखि मुद्दा अदालतमा विचाराधीन छ।

एनडीटीभी भारतमा मोदीको अन्धसमर्थन नगर्ने मुलधारको थोरै टेलिभिजन च्यानलमध्ये पर्छ। यसैले आफूहरुमाथि सरकारको कुदृष्टि परेको टेलिभिजन च्यानलको आरोप छ।

Featured