विदेश

पोखरीमा ६ बालबालिकाको शव भेटियो

काठमाडौं, रासस/सिन्ह्वा, साउन २३-चीनको मध्य क्षेत्रमा रहेका प्रान्त हेनानको जेङजाओ भन्ने स्थानमा छ जना बालबालिकाको डुबेर ज्यान गएको छ।

उनीहरुको शव पोखरीमा डुबेको अवस्थामा भेटिएको बिहीबार त्यहाँबाट प्राप्त भएको समाचारमा जनाइएको छ।
बुधबार साँझ ती बालबालिका डुबेको अवस्थामा भेटिएको जनाइएको हो। उनीहरु पौडी खेल्ने क्रममा डुबेको हुनसक्ने अनुमान गरिएको छ।

यतिखेर केही दिन यतादेखि चीनमा गर्मी बढेको कारण विद्यालय बन्द गरिएको छ। यही गर्मी र छुट्टीको समय पारेर विद्यार्थीहरु पौडी खेल्न स्थानीय खेला तथा पोखरीमा जाने गर्दछन्।

यस कारण पनि यहाँका बालबालिकाको ज्यान जाने गरेको छ। स्थानीय नागरिकहरुले आफ्ना बालबालिकालाई स्थानीय खोला र पोखरीहरुमा पौडी खेल्न जान नदिन सूचना गर्ने गरेका भए पनि बालबालिका भने जाने गरेको र यस कारण उनीहरुको ज्यान जाने गरेको बताइन्छ।

बुधबार रातिको दुर्घटनामा परी ज्यान गएका बालबालिका ५ देखि १२ वर्षको उमेरका छन्। उनीहरु तीन परिवारका थिए।

Featured