देश राजनीति

संसदमा राजेन्द्र महतोले सोधे, कुन राजेन्द्र महतोको नागरिकता खारेज गरेको हो ?

काठमाडौँ, साउन २०-राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारले आफ्नो मानहानी गरेको भन्दै माफी माग्न माग गरेका छन्। सोमबार संसदलाई सम्बोधन गर्दै उनले भ्रमको खेती नगर्न सरकारलाई चेतावनी दिए।

आइतबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दा सञ्चारमन्त्री गोकुल बास्कोटाले ८ जनाको नागरिकता खारेज भएको भनी जानकारी दिएका थिए। नागरिकता खारेज हुनेमध्ये एक राजेन्द्र महतो नाम गरेका व्यक्ति पनि थिए।

त्यसलाई लिएर आफ्नो नागरिकता खारेज भयो भनेर झुटो प्रचार भएको भन्दै सांसद महतोले आपत्ति जनाए। संवेदनशील विषयमा निर्णय सार्वजनिक गर्दा सरकारले पूरा सूचना नदिएको भन्दै उनले भने, ‘कुन राजेन्द्र महतो हो ? राजेन्द्र महतो नाम गरेको व्यक्ति त हजारौं छ।’

नागरिकता खारेज भएका व्यक्तिको पूर्ण विवरण सार्वजनिक नगरी सरकारले आफ्नो नागरिकता खारेज भएको भनी भ्रमको खेती गर्न खोजेको भन्दै उनले सरकारको नियतमाथि प्रश्न उठाए । सांसद महतोले यदि कृष्णबहादुर महरा महाडकैत भएको र उनलाई आजीवन कारावास सजाय मात्र भनियो भने के हुन्छ भन्ने प्रश्न गरे।