देश

आगामी तीन दिनसम्म भारि बर्षा र चट्याङ पर्ने सम्भावना

काठमाडौं, साउन १७-आगामी २४ घण्टा देखि  शुक्रबार, शनिबार र आइतबारसम्म केही स्थानमा चट्याङ्ग पर्ने र पश्चिमको पहाडि भूभागको एक वा दुई स्थानमा भारी वर्षा हुने भएकाले सतर्कता अपनाउन मौसमविदको आग्रह छ।हाल मनसुनको न्यून चापिय रेखा नेपालको तराई भूभागभन्दा दक्षिणतिर अवस्थित छ। यो रेखा बिस्तारै नेपाल तर्फ सर्दै आइरहेको  हुदाँ आगामी तीन दिनसम्म मेघ गर्जन र चट्याङसहित पानी पर्ने मौसमविदले पूर्वानुमान गरेका हुन्।

मौसमविदका अनुसार देशको पूर्वी, पश्चिमी तथा मध्य पहाडी भूभागमा सामान्य बदलीको अवस्था छ। साथै ती क्षेत्रहरुका थोरै स्थानहरुमा वर्षा पनि भैरहेको देखिन्छ। मध्य तराई क्षेत्रमा भने मौसम सामान्यतया सफा छ। शुक्रबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रबार राति भने पश्चिमी पहाडि भू-भागका एक वा दई स्थानमा भारी वर्षाको सम्भावना छ।

शनिबार दिउँसो र राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले अनुमान गरेका छन्। आइतबार दिउँसो पनि शनिबार दिउँसोको जस्तै अवस्था रहने छ। तर, राति भने पश्चिमी भू-भागका केही स्थानहरुमा तथा मध्य र पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम खालको वर्षा हुने महाशाखाले जनाएको छ।