देश

निर्मला पन्त हत्या घटनामा प्रहरीको नयाँ प्रतिवेदन

काठमाडौं, माघ २७–बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको घटनामा यसअघि बनेको प्रतिवेदन गलत भएको भन्दै प्रहरीले अर्को प्रतिवेदन बनाएको छ । डिआइजी सुरज केसी नेतृत्वको पुनरावलोकन समितिले एआइजी धिरु बस्नेत नेतृत्वको प्रतिवेदन गलत रहेको निष्कर्ष निकालेको छ । नयाँ प्रतिवेदनसँगै पुरानो प्रतिवेदन कार्यान्वयन नगर्न प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई निर्देशन दिएको छ ।

एआइजी बस्नेत नेतृत्वको प्रतिवेदनले सो घटनामा प्रहरीले प्रमाण नष्ट गरेको तथा नक्कली अभियुक्त खडा गर्ने प्रयास गरेको उल्लेख गरेको थियो । जुन प्रतिवेदन तथ्यमा आधारित नरहेको डिआइजी केसी नेतृत्वको समितिले ठहर गरेको छ । पुरानै प्रतिवेदनका आधारमा आठजना प्रहरीविरुद्ध फौजदारी मुद्दा दायर भएको थियो । नयाँ प्रतिवेदनसँगै यो घटनाको अनुसन्धान नयाँ मोडमा पुगेको छ ।

नयाँ प्रतिवेदन कार्यान्वयनका लागि प्रक्रिया अघि बढाइएको प्रहरी प्रवक्ता डिआइजी शैलेश थापा क्षेत्रीले बताए । ‘डिएनए परीक्षणमा त्रुटि भएको कुरा आएपछि पहिलाको प्रतिवेदनमा रिभ्यु गर्न कमिटी बनेको थियो,’ डिआइजी क्षेत्रीले भने, ‘अब अन्य कोणबाट पनि अनुसन्धानका लागि कार्य तथा अपराध अनुसन्धान विभागलाई प्रतिवेदन पठाइएको छ ।’ नयाँ प्रतिवेदनमा दिलीपसिंह विष्ट नै अभियुक्त हुने प्रबल सम्भावना रहेको औँल्याइएको छ । नयाँ पत्रिकाबाट

Featured