विदेश

बसमा आगलागी हुँदा ५ जनाको मृत्यु, ३० घाइते

एजेन्सी, माघ २६–भारतको उडिसा राज्यको गंजम जिल्लामा गुडिरहेको बसमा आगलागी हुँदा ५ जनाको मृत्यु भएको छ भने अन्य ३० जना घाइते भएका छन्। समाचार एजेन्सी पीटीआईकाअनुसार विद्युत प्रशारण लाइनको तारमा गुडिरहेको बसले अचानक छुँदा आगलागी भएको हो।

आगलागीमा परेर घाइते भएकाहरु मध्ये केही यात्रुको अवस्था गम्भीर छ। घाइतेहरुको बहरामपुरस्थित एमकेसीजी मेडिकल कलेजमा उपचार भइरहेको छ। अग्नि नियन्त्रक पदाधिकारीकाअनुसार ट्रान्समिशन लाइनमा सप्लाई हुने करेन्ट बन्द गरेर आगलागीलाई नियन्त्रणमा लिइएर बसबाट यात्रुहरुको उद्दार गरिएको थियो।

प्रहरीका अनुसार बस जंगलपाडुबाट चिकाराडा तर्फ जाँदै थियो। ११ किलोवाट क्षमता भएको विद्युत प्रसारण लाइनको सम्पर्कमा आउँदा बसमा आगलागी भएको हो। बसमा सवार मानिसहरु नजिकैको गाउँमा हुने वैवाहिक कार्यक्रममा सरिक हुन जाँदै थिए।

Featured