देश

मलेसियामा अवैध विदेशी श्रमिकमाथि तीब्र धरपकड, ८ नेपालीसहित १ सय ५५ पक्राउ

काठमाडौं, माघ २६–मलेसिया सरकारले विदेशी श्रमिकलाई दिएको आममाफीको समय सकिएसँगै धरपकडको क्रमलाई तीब्र पारेको छ । सोही क्रममा विभिन्न ठाउँमा आकस्मिक रूपमा प्रहरीले जाँच गर्ने क्रमलाई समेत बढाउन थालेको छ । अध्यागमन अधिकारीसहित प्रहरीले गरेको जाँचका क्रममा शनिबार बिहानै १ सय ५५ जना पक्राउ परेको मलेसियाका स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

त्यसमध्ये ८३ जना पुरुष र ६५ जना महिला रहेका छन् भने ७ जना बालबालिकासमेत पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ८ जना नेपाली छन् । सबैभन्दा धेरै इण्डोनेसियाली पक्राउ परेका छन् । मलेसियाका स्थानीय सञ्चार माध्यमका अनुसार सो क्रममा १ सय ३० जना इण्डोनेसियालीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने अन्यमा भारत, म्यानमार, बङ्गलादेशका छन् ।

पक्राउ पर्नेहरूसँग वैधानिक परिचयपत्र नभएको बताइएको छ । पक्राउ पर्नेहरूमध्ये अधिकांश भिसा अवधिभन्दा बढी समय बसेका, कतिपयले त अवैधानिक रूपमा विवाहसमेत गरेको भेटिएको प्रहरीले जनाएको छ । मलेसियाको प्रहरीले यस्तो खोजी र पक्राउ अभियान अझ तीब्र बनाइने बताएको छ ।

Featured