देश

साथीको मोटरसाइकल छाड्न गएका मनोज मृत भेटिए

बाँके, माघ २६–बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–६ मा एक युवकको शव फेला परेको छ । नेपालगञ्ज २२ पुरैनीका २२ वषीृय मनोज पासीको शव नेपालगञ्ज बसपार्क नजिकै हुलाकी राजमार्ग छेउमा भेटिएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक शिव बहादुर सिंहले सडक छेउको पानीको नालामा पासीको शव फेला परेको जानकारी दिए । उनका अनुसार नालामा डुबेको अवस्थामा फेला परेको र मृतकको नजिकै हेलमेट बिनाको दुर्घटनाग्रस्त रुपमा भे २ प ३३७८ नम्बरको मोटरसाइकलसमेत फेला परेको थियो।

नजिकै मोटरसाइकल समेत फेला परेकाले उनको दुर्घटनामा परेर मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । मृतकको शवलाई पोस्टमार्टमका लागि भेरी अस्पताल नेपालगञ्जमा लगिएको छ । प्रहरी नायब उपरीक्षक सिंहले प्रारम्भिक अनुसन्धानमा दुर्घटना जस्तो देखिए पनि विस्तृत जानकारी पोस्टमार्टम रिपोर्ट आएपछि मात्र थाहा हुने बताए । मृतक पासी शनिबार राती १० बजेसम्म आफ्नै घरमा रहेको र र साथीको मोटरसाइकल पु¥याउन जान्छु भनेर राति घरबाट मोटरसाइकल लिएर हिँडेका थिए ।

मध्यरातसम्म पासी घर नफर्केपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । बिहानै स्थानीयले नालामा शव देखेपपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ । पारिवारिक स्रोतका अनुसार मृतक पासीको आजै बिहेको कुरा पक्का गर्ने र फागुन सात गते बिहे गर्ने कुरा भएको थियो ।

Featured