खेलकुद देश

रोनाल्डो कीर्तिमान नजिक, तर युभेन्टसलाई गम्भीर झट्का

एजेन्सी, माघ २५–इटालियन सिरी एको उपाधी दौडमा रहेको युभेन्टस हेल्स भेरोनासँग स्तब्ध बनेको छ । क्रिष्टियोनो रोनाल्डोको उत्कृष्ट गोलका बाबजुद युभेन्टस २–१ ले पराजित भयो । पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा अवे मैदानमा युभेन्टसका लागि रोनाल्डोले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ६५ औं मिनेटमा रोनाल्डोले गरेको गोलबाट लिएको अग्रता युभेन्टसले जोगाउन सकेन ।

घरेलु टोली भेरोनाका लागि ७६ औं मिनेटमा फाबिओ बोरिनीले बराबरी गोल फर्काए भने त्यसको १० मिनेटपछि पाएको पेनाल्टीमा भेरोनाका लागि जिएमपाओलो पाजिनीले गोल गर्दै महत्वपूर्ण जित दिलाए । रोनाल्डोले सिरी एका लगातार १० खेलमा गोल गरेका छन् । अब एक खेलमा गोल गरे भने उनले लगातार गोल गर्ने कीर्तिमान आफ्नो नाममा लेखाउने छन् ।

हारका बाबजुद युभेन्टस शीर्ष स्थानमा कायम छ । उसको २३ खेलबाट ५४ अंक छ । एक खेल कम खेलेको दोस्रो स्थानको इन्टर मिलानको ५१ अंक छ । युभेन्टसलाई पराजित गरेको भेरोना २३ खेलबाट ३४ अंकसहित छैटौं स्थानमा पुगेको छ । गएराति भएका अरु खेलमा एट्लान्टाले फियोरेन्टिनालाई २–१ तथा साम्पाडोरियाले टोरिनोलाई ३–१ ले पराजित गरेको छ ।

Featured