देश

जन अभावले खेतबारी जंगल

दोलखा, माघ २५–कालिञ्चोक गाउँपालिका–२ बाबरेस्थित सिस्नेरी गाउँको सिरानबाट बाक्लो जंगल सुरु हुन्छ। दुई घन्टा हिँड्दा पनि छिचोल्न मुस्किल पर्ने उक्त जंगलभित्र मिलेका गराहरू टन्नै भेटिन्छन्। उत्तिस, सल्लोसहितका रूख पार गर्दै, झाडी पन्छाउँदै अघि बढ्दा बारीमै हिँडिरहेको अनुभूति हुन्छ। त्यहाँबाट छोक्सासम्म झन्डै पाँच हजार रोपनी खेतीयोग्य जमिन डेढ दशकको अन्तरालमा बाक्लो जंगलमा परिणत हुन पुगेको छ।

स्थानीयका अनुसार १५ वर्षअघि त्यहाँ वर्षमा दुई बाली लगाइन्थ्यो । ठाउँठाउँमा गाईगोठ हुन्थे । कुनै बेला त्यहाँ ८५ घरधुरीको बसोबास थियो । अहिले त्यो गाउँ १० घरधुरीमा सीमित बनेको छ । व्यापक बसाइँसराइ अनि खेतीपाती गर्नेहरूको कमी हुँदै गएपछि सिस्नेरी गाउँमाथिको सबै खेतीयोग्य जमिन रूखले भरिन पुगेको हो। मेलुङ गाउँपालिका–४ भेड्पुको मजुवा खेतमा १२ वर्ष अघिसम्म लहलह धान झुल्थ्यो। स्थानीय तामाङ र नेवार परिवारको स्वामित्व रहेको त्यहाँको जमिनमा खेती लगाउन छाडेको दशक नाघिसक्यो।

स्थानीयका अनुसार त्यहाँको आधाभन्दा बढी भूभाग अहिले उत्तिसघारी बनेको छ। भेड्पुको लेक र बेंसीका बीचतिर पर्ने उक्त खेतको कमाइ देखेर पहिला मानिसहरू अचम्मित हुँदै भन्थे, ‘आहा १ कति राम्रो बाली, कमाइ होस् त यस्तो !’ माथिका दुई स्थान उदाहरण मात्र हुन्। सहर बसाइको बढ्दो आकर्षणले दोलखाका गाउँबस्ती खाली हुँदै गएका छन्। विगतमा अन्न भण्डारका रूपमा परिचित उर्वर जग्गाजमिन धमाधम जंगलमा परिणत हुँदै छन्।

जिल्लाका ठूल्ठुला बेंसी बाँझै छन्। वर्षमा तीन बालीसम्म लाग्ने लेकका बारी र पाटा अहिले रित्तै छन् । कृषि क्षेत्रको आधुनिकीकरणतर्फ राज्यको लगानी नहुँदा महँगो परम्परागत खेती प्रणालीप्रति नागरिकको मोह घट्दै गएको छ। जसका कारण खेतीपातीबाट मानिसहरू विमुख हुँदै जाँदा गाउँका जमिन जंगलमा रूपान्तरण हुँदै गएको जानकारहरू बताउँछन्।

जिल्लाभरि धेरै ठाउँको अवस्था उस्तै छ। आकर्षक र उर्वर खेत केही वर्षदेखि बाँझो पल्टिन थालेका छन्। जिल्लाकै ठूलोमध्येको दोलखा बेंसीको जिलु झर्ने खबरदारी डाँडामा उभिएर हेर्दा झन्डै ४० प्रतिशत भूभाग बाँझै देखिन्छ। एउटै गरामा ४० मुरी धान फल्ने तामाकोसी गाउँपालिका–३ जफेको पिपलटार खेत दुई वर्षदेखि बाँझै छ। स्थानीय काफ्ले परिवारको स्वामित्वमा रहेको सो खेतको धनी गाउँमा बस्दैनन्।

अधियाँ गर्नेले समेत खर्चै उठ्न नसक्नेगरी महँगो भएको भन्दै दुई वर्षअघि खेत कमाउन छाडेका थिए। नेकपाका जिल्ला अध्यक्षसमेत रहेका तामाकोसी गााउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलका अनुसार जफे गाउँको बेंसीका प्रायः भूभागमा लामो समयदेखि खेती हुन सकेको छैन। जफेकै फौदर गाउँको बारीमा घाँसैघाँस मात्र देख्न सकिन्छ। नागरिक दैनिकबाट

Featured