देश

१ सय ७ मध्ये अधिकांश आयोजनामा लापर्बाही र त्रृटि

काठमाडौं, माघ २५–सरकारका विभिन्न निकायद्वारा सञ्चालित विकास आयोजनामा व्याप्त बेथिति अझै रोकिन सकेको छैन । सरकारबाट प्रभावकारी अनुगमन हुन नसक्दा र ठेकेदार कम्पनीहरूले इमानदारीपूर्वक काम नगर्दा अधिकांश विकास आयोजना गुणस्तरयुक्त बन्न नसकेका हुन् । प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सर्तकता केन्द्रले सरकारका राष्ट्रिय गौरवका आयोजना र अन्य विकास आयोजनाको प्राविधिक परीक्षण गर्दा अधिकांशमा गम्भीर त्रृटि र लापर्बाही भएको फेला पारेको हो ।

यस्तै, लापर्बाहीका कारण आयोजना सम्पन्न भएको केही समयभित्रै भत्कने, चर्कने, तथा नष्ट भएर जाने समस्या देखिने गरेको सर्तकता केन्द्रका अधिकारीको भनाइ छ । सर्तकता केन्द्रले आर्थिक वर्ष २०७५÷७६ मा राष्ट्रिय गौरवका ११ वटा तथा सडक र ग्रामीण सडकअन्तर्गतका ६५ सहित १ सय ७ वटा आयोजनाको प्राविधिक परीक्षण गरेको थियो । प्राविधिक परीक्षण गर्दा अधिकांश आयोजनाले कम गुणस्तरयुक्त सामान प्रयोग गरेको, स्पेसिफिकेसनअनुसार काम नगरी लापर्बाही र त्रुटि गरेको ठहर केन्द्रका प्राविधिक परीक्षकले गरेका छन् ।

यसैगरी, आयोजनाले डिजाइन गर्दा प्रशस्त ध्यान दिन नसकेको, संरचनाको दिगोपनामा ध्यान दिन नसकेकोजस्ता समस्यासमेत देखिने गरेको केन्द्रले जनाएको छ । सर्तकता केन्द्रका सहायक प्रवक्ता डालनाथ अर्यालले केन्द्रका प्राविधिक परीक्षकले औंल्याका अपरिपालनसम्बन्धी प्रतिवेदन सम्बन्धित निकायमा पठाएर त्रुटि सच्याउन निर्देशन दिइएको जानकारी दिए ।

सर्तकता केन्द्रले त्रुटि गरेका आयोजनालाई त्रुटि सच्याउन निर्देशन दिएपछि अधिकांश आयोजनाले केन्द्रको निर्देशनलाई समेत अवज्ञा गर्दै आइरहेका छन् । केन्द्रले त्रुटि सच्याएर गुणस्तरयुक्त कार्य गर्न दिएको निर्देशन अवज्ञा गर्ने आयोजनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरी कारबाही गर्दै आइरहेको छ । राजधानी दैनिकबाट

Featured