देश

प्रधानमन्त्री ओलीलाई एसियाली ‘दूरद्रष्टा नेता तथा राष्ट्र निर्माता अवार्ड’

काठमाडौं, माघ २४–प्रधानमन्त्री केपी शर्मा ओलीलाई एसियाली दूरद्रष्टा नेता तथा राष्ट्रनिर्माण अवार्डबाट सम्मानित गरिएको छ । एसियाली व्यवस्थापन संस्थाहरुको संगठन एसियन एसोसिएसन अफ म्यानेजमेन्ट अर्गनाइजेसन (आमो)ले शुक्रबार राजधानीमा आयोजित एसियाली नेतृत्व सम्मान साँझ २०२० का अवसरमा प्रधानमन्त्रीलाई सो सम्मान प्रदान गरेको हो ।

संस्थाका सभापति राजिव कौलले एक भव्य समारोहबीच प्रधानमन्त्री ओलीलाई सम्मान गरे । कार्यक्रममा आमोले एसिया क्षेत्रका उत्कृष्ट व्यावसायिक नेतृत्वलाई पनि सम्मानित गरेको छ । आमोले उत्कृष्ट व्यवसायी नेतृत्वको सम्मान भारतका आदित्य विरला व्यवस्थापन कर्पोरेसन प्रालिका समूहको कार्यकारी अध्यक्ष तथा अखिल भारतीय व्यवस्थापन संघका पूर्वसभापति डी शिवकुमारलाई प्रदान गरेको छ । त्यस्तै श्रीलंकाका हाट राष्ट्रिय बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत जोनाथन आयल्सलाई पनि कुशल व्यवसायी नेतृत्वको सम्मान दिइएको छ ।

त्यस्तै नेपालका आइएमई ग्रुपका सहसंस्थापक तथा अध्यक्ष चन्द्रप्रसाद ढकाललाई पनि कुशल व्यावसायिक नेतृत्वको सम्मान दिइएको छ । राजधानीको होटल याक एन्ड यतिमा आयोजित कार्यक्रममा व्यावसायिक नेताहरुलाई प्रधानमन्त्री ओलीले सम्मानित गरे ।

आमो एसियाका राष्ट्रिय व्यवस्थापन संस्थाहरुको छाता संगठन हो । सन् १९६० मा अस्ट्रेलियाको मेलबर्नमा भएको बैठकबाट यो क्षेत्रीय संस्था स्थापना गर्ने विचारको जन्म भएको थियो । सुरुमा व्यवस्थापन शिक्षाको विकास र विस्तारमा समर्पित हुने लक्ष्य राखेको यस संस्थाले समयक्रममा व्यवस्थापन शिक्षाको अलवा क्षेत्रीय बजार विकास र विस्तारमा पनि यसले ध्यान दिन थालेको छ ।

अहिले व्यवस्थापन संस्थाको विकास र व्यवस्थापकहरुको क्षमता अभिवृद्धिमा पनि केन्द्रित रहेको यस संस्थामा अस्ट्रेलिया, न्युजिल्यान्ड, फिलिपिन्स, कोरिया, मकाउ, मलेसिया, हङकङ, श्रीलंका, भारत, नेपाल र पाकिस्तानका व्यवस्थापन संघहरु सदस्य छन् । नेपालका व्यवस्थापकहरुको छाता संंगठनको रुपमा रहेको नेपाल व्यवस्थापन संघ यो संस्थाको सक्रिय सदस्य हो ।

Featured