देश

आलम थुनामै रहने, मुद्दा रौतहटबाट पर्सा सार्नु नपर्ने

जकपुर, माघ २४–रौतहटमा सामूहिक हत्याकाण्डका मुख्य आरोपी पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमलाई थुनामा राख्ने जिल्ला अदालतको आदेशलाई उच्च अदालतले पनि सदर गरेको छ । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासमा न्यायाधीशद्वय डिल्लीराज आचार्य र सत्यमोहन जोशी थारुको इजलासले आलमलाई पूर्पक्षका लागि थुनामा राख्ने रौतहट जिल्ला अदालतको आदेशलाइ शुक्रबार सदर गरेको हो ।

रौतहट जिल्ला अदालतले आलमलाई पूर्पक्षका लागि थुनामा पठाउन गत २९ कात्तिकमा आदेश गरेको थियो । त्यस्तै उच्च सरकारी वकील कार्यालय वीरगञ्जले रौतहटमा विचाराधीन मुद्दा पर्सा जिल्ला अदालत सार्न भन्दै १ पुसमा उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा निवेदन दर्ता गराए पनि इजलासले रौतहटबाट पर्सा मुद्दा सार्नु नपर्ने आदेश गरेको छ ।

रौतहटमा मुद्दा चलिरहँदा साक्षीको सुरक्षा, संकलन गरिएका प्रमाणको सुरक्षा नहुने भन्दै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला सरकारी वकील कार्यालयलगायतले उच्च सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पेश गरेका थिए।

मुद्दा सार्नका लागि अदालतमा निवेदन दर्ता भएपछि आलमले पनि आफूलाई तारेखमा राखेर मुद्दाको पूर्पक्ष गरी पाउन पुनरावेदन गरेका थिए । अहिले आलम पूर्पक्षका लागि नख्खुस्थित कारागारमा छन् ।

Featured