देश

हत्याको आरोपमा २ जना पक्राउ

सुरुङ्गा, माघ २४–संवेदनशील अङ्ग (अण्डकोषसहितको गुप्ताङ) काटेर भारतीय नागरिकको हत्या गरी शवलाई जलाएको आरोपमा पक्राउ परेका २ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । बिर्तामोड नगरपालिका–२, चारपानेमा डेरा गरी बस्ने भारतीय नागरिक ४० वर्षीय सुवास शेखको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका सोही ठाउँका २० वर्षीय करन चौधरी र १८ वर्षीय लक्ष्मण यादवलाई इलाका प्रहरी कार्यालय अनारमनीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

सो अवसरमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले मादक पदार्थ सेवन गरेर सामान्य विवादमा शेखको हत्या गरेको र हत्यापछि चौधरी र यादवले उनको शवलाई स्थानीय ऐनकुमार राजवंशीको खेतमा राखिएको परालमा जलाएका हुन् । शेख चारपानेमा विगत १० वर्षदेखि बसोबास गर्दै आएको र सोही क्षेत्रमै मजदुरी गर्दै आएका थिए ।

सोमबार साँझ यादव, चौधरी र शेख तीनै जना स्थानीय होटलमा सँगै बसेर मादक पदार्थ सेवन गरेको र आपसी विवादका क्रममा शेखलाई यादव र चौधरीले टाउकोमा ढुङ्गा प्रहार गर्दै बेहोस बनाएर पराल राखेको ठाउँसम्म घिसारेर र्पुयाएको तथा संवेदनशील अङ्ग काटेर परालमा आगो लगाएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । पक्राउ परेका चौधरी र यादवलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए ।

प्रहरीले पक्राउ परेका व्यक्तिको साथबाट संवेदनशील अङ्ग काट्न प्रयोग गरेको चक्कु १ थान, मृतकलाई आगो लगाउन प्रयोग गरिने लाइटर १ थान, मृतकको लेनोभो कम्पनीको कालो मोबाइल १ थान, मृतकले प्रयोग गरेको सिम कार्ड, घटना गराउँदा लक्षण यादवले लगाएको रगतजस्तो दाग लागेको १ थान भेस्ट र घटना हुनुभन्दा अगाडि बुद्धिमाया राईको पसलबाट किनेको चुरोट तथा चुरोटका ठुटासमेत बरामद गरेको छ । रासस

Featured