विदेश

महाभियोगमा सफाइ पाएपछि ट्रम्पको खुसीयाली

एजेन्सी, माघ २४–महाभियोगमा सफाइ पाएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीमाथि रोष प्रकट गरेका छन् । ह्वाइट हाउसको इस्ट रूममा आफ्ना समर्थक एवं मन्त्रिमण्डलका अधिकारीहरूमाझ बोलेका उनले वरिष्ठ डेमोक्रेटहरुलाई दुष्ट, स्वार्थी र बेकारका मानिसहरू भएको टिप्पणी गरेका छन् । झण्डै एक घण्टा चलेको कार्यक्रमलाई ट्रम्पले मन्तव्य वा पत्रकार सम्मेलन केही नभइ विजय उत्सव भनेका थिए ।

‘मैले जीवनमा गलत कामहरू पनि गरेको छु, मैले स्वीकार्नेछु‘ तर यो अन्तिम नतिजा हो,’ ट्रम्पलाई सफाइ शीर्षक राखिएको एउटा पत्रिका देखाउँदै उनले भने, ‘हामीहरू अन्यायपूर्ण ढङ्गबाट नर्क अनुभूति गर्नुपर्यो। हामीले केही गलत गरेका थिएनौं ।’ ह्वाइट हाउसमा उनले भने, ‘त्यो दुष्टता थियो, त्यो बेइमानी थियो। अहिले हामीसँग त्यो ओजपूर्ण शब्द छ। मलाई कहिल्यै लागेको थिएन कि त्यो त्यतिधेरै राम्रो लाग्नेछ।’

‘त्यो आफ्नो औचित्य, कुन्ठा र चिढ्याइ दर्शाउँदै आत्मप्रशंसा गर्ने र आफ्नो बाटोमा आउने राजनीतिक प्रतिद्वन्द्वीलाई अपमानजनक व्याख्या गर्ने कार्यक्रम थियो,’ बीबीसी संवाददाता ड्यारिओ डोनोघ्युले भनेका छन् । रिपब्लिकनहरूको बाहुल्य रहेको सिनेटले महाभियोगमा दिएको सफाइलाई ट्रम्पले आफूमाथिको पूर्ण अनुमोदनको रूपमा अर्थ लगाए ।

Featured