विदेश

कोरोना भाइरसको पहिलो चेतावनी दिने चिकित्सकको मृत्यु

एजेन्सी, माघ २४–चीनमा कोरोनाभाइरसको प्रकोप फैलिन सक्ने चेतावनी दिएका पहिलो चिनियाँ डाक्टरको संक्रमणकै कारण मृत्य भएको उनको उपचार गरिरहेको अस्पतालले पुष्टि गरेको छ । वुहान सेन्ट्रल अस्पतालमा कार्यरत लि वेन्लियाङलाई सोही अस्पतालमा संक्रमण भएको थियो । ती ३४ वर्षीय चिकित्सकले आफ्ना सहकर्मीहरूलाई ३० डिसेम्बरमा भाइरस संक्रमण भयावह रूपमा फैलिन सक्ने भन्दै सजग गराएका थिए । तर प्रहरीले उनलाई ‘अनर्गल टिप्पणी नगर्न’ चेतावनी दिएको थियो ।

उनको मृत्युबारे विरोधाभासपूर्ण विवरणहरू बाहिर आएका छन् । तर चीनको पीपल्स डेलीले उनको मृत्यु स्थानीय समयानुसार शुक्रवार बिहान तीन बज्न लाग्दा भएको उल्लेख गरेको छ। चीनमा अहिलेसम्म कोरोनाभाइरसको संक्रमणबाट कम्तीमा ६ सय ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ३१ हजार भन्दा बढीलाई संक्रमण भएको छ। बिहीवार मात्रै ७३ जनाको मृत्यु भएको छ ।

Featured