देश

विप्लव समूहद्वारा दुईवटा गाडीमा आगजनी

मकवानपुर, साउन १५-नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मंगलबार राति मकवानपुरका दुई गाडी जलाएका छन्।

विप्लव समूहले आव्हान गरेको बन्दको पूर्वसन्ध्यामा मकवानपुरको फाखेल हुमाने भन्ज्याङमा बा १४ च ८२३४ नम्बरको कार र मकवानपुरको मनहरी ज्यामिरे खरङ्गामा बा ५ख १७३९ नम्बरको ट्रकमा आगजनी भएको हो।

आगजनीबाट कार पूर्णरूपमा जलेको छ भने ट्रकको अगाडिको भाग मात्र जलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए।

यसैबीच हेटौँडाका विभिन्न स्थानमा शङ्कास्पद वस्तु फेला परेको छ। हेटौँडाको थाना भर्याङ, चौकीटोल र हुप्राचौर क्विक २० पार्टीप्यालेस नजिकै शङ्कास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ। सबै शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय गरिसकेको छ।