देश

अनलाइनका नाममा सास्ती

पोखरा, माघ २४–सरकारको सेवाप्रवाह सेवा छिटोछरितो र सर्वसुलभ साथै प्रविधिमैत्री बनाउने उद्देश्यले ल्याइएको डिजिटल अनलाइन प्रविधिले सेवाग्राहीलाई झनै सास्ती भएको छ । यातायात व्यवस्था कार्यालय गण्डकीमा सेवा लिन पुग्ने सेवाग्राहीले कहिले सर्भर नचल्दा त कहिले अनलाइन नखुल्दा हैरानी बेहोर्नु परेको छ । पोखरा महानगरपालिका–१७, बिरौटाका नवीन हमाल मङ्गलबार सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को काम लिएर कार्यालयको सवारीचालक अनुमतिपत्र शाखामा गए । सर्भर नचलेका कारण सो दिन उनी त्यसै फर्किए ।

त्यसको दुई दिनपछि बिहीबार बिहान ९ बजे पुनः कार्यालय पुगेका उनले लाममा दुई घण्टा पालो कुरे । पछि सर्भर नचलेको भन्दै कर्मचारीले उनलाई फर्काइदिए । हमाल मात्र हैन, लाइसेन्सको काम लिएर कार्यालय आउने धेरै सेवाग्राहीले सर्भरका कारण यस्तै सास्ती भोग्ने गरेका छन् । प्रायः दैनिकजसो सर्भरले काम नगर्दा लाइसेन्सको काम लिएर आउने सेवाग्राहीको काम नहुँदा पनि समाधानको लागि केही पहल भएको छैन ।

कार्यालयका निमित्त प्रमुख हरिप्रसाद गौतम कर्मचारीले सेवाग्राहीको काम छिटोछरितो गर्न चाहे पनि सर्भरका कारण समस्या हुने गरेको बताउछन् । केन्द्रीय प्रणाली अर्थात् यातायात विभागमार्फत कार्यालयको सर्भरले काम गर्ने हुँदा समस्या परेको उनको भनाइ छ । सर्भर जुनसुकै बेला पनि डाउन हुने गरेको र त्यसको समाधान कर्मचारीको हातमा नरहेकाले समस्या परेको हो ।

पटक पटक कार्यालय पुगेका सेवाग्राही सर्भर नचल्दा हैरान छन् भने अनलाइन सेवाका लागि प्रवेश गर्ने सेवाग्राहीले जतिसुकै प्रयास गर्दा पनि एक्सेस नपाएको गुनासो छ । यातायात गण्डकी कार्यालयले दैनिक सानो ठूलो सवारी गरी झन्डै चार सयवटा फर्म अनलाइनमार्फत लिने गर्छ । गोरखापत्र दैनिकबाट

Featured