देश

४ हजार परिवार लाभग्राही सूचीबाट हटाइँदै

काभ्रेपलाञ्चोक, माघ २३–राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय धुलिखेलले जिल्लाका ४ हजारभन्दा बढी भूकम्पपीडितको नाम आवास पुनःनिर्माण लाभग्राही सूचीबाट हटाउन सिफारिस गर्ने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गत पुस मसान्तभित्र सम्झौता गर्न नआएका भूकम्पपीडितको नाम एक हप्ताभित्र पठाउन पत्राचार गरेको थियो ।

जिल्लास्थित कार्यालयले उक्त सूची पठाउन नसकेपछि प्राधिकरणले केही दिनदेखि ताकेता गर्दै ‘२४ घण्टे अल्टिमेटम’ दिन थालेको छ । पूर्वाधार कार्यालयले भने भूकम्पपीडितमा सूचीकृत भई सम्झौता गर्न नआएका ४ हजार ३ सय ६६ जनाको नाम सिफारिस गर्न सूची तयार गरिसके पनि पुनःनिर्माण प्राधिकरण केन्द्रीय कार्यालयमा भने पठाएको छैन । कार्यालयका सूचना अधिकृत गणेश घिमिरेका अनुसार जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय र पूर्वाधार कार्यालयले आवास पुनःनिर्माण सम्झौता नगर्नेको सूचिकृत नाम निर्णय गरी प्राधिकरणको केन्द्रीय कार्यालय पठाउन मात्रै बाँकी छ ।

प्राधिकरणले यसअघि सम्झौता भएका भूकम्पपीडितले पुस मसान्तभित्र सम्झौता गरी आवास पुनःनिर्माणको प्रथम किस्ताबापतको ५० हजार लैजानुर्ने समयसीमा तोकेको थियो । हालसम्म आवास पुनःनिर्माणमा सूचिकृत जिल्लाको ८४ हजार ४ सय ७५ परिवारमध्ये ४ हजार ३ सय ६६ परिवार सम्पर्कमा नआएको घिमिरेले बताए । उनका अनुसार भूकम्पले क्षति र्पुयाएपछि प्रधिकरणमार्फत सर्भे भएका ९८ हजार १९ घरमध्ये ७६ हजार ६ सय ६१ परिवारले मात्रै आवास पुनःनिर्माण सम्झौता गरेका थिए ।

विभिन्न चरणको गुनासोपछि हालसम्म जिल्लाका एक हजार ७१ जनाको नाम लाभग्राहीमा सूचिकृत भएको पूर्वाधार कार्यालयको तथ्यांकमा उल्लेख छ । उहाँका अनुसार समयसीमा नाघेका पीडित परिवारको विषयमा सुझाव मागेको अवस्थामा प्राधिकरणले सम्झौता नगर्नेको नामावली तत्कालै पठाउन निर्देशन दिएको हो । रासस

Featured