देश राजनीति

कांग्रेसनिकट वैदेशिक रोजगार व्यवसायीको साधारणसभा भोलि

काठमाडौं, माघ २३–कांग्रेसनिकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको १०औँ साधारणसभा भोलि शुक्रबार हुने भएको छ । नयाँ नेतृत्व चयनका लागि हुने साधारणसभामा अध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दिएको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले बताए ।

अध्यक्ष पदका लागि फोरमका पूर्ववरिष्ठ उपाध्यक्ष नरेन्द्रप्रसाद ढकाल, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका द्वितीय उपाध्यक्ष भुवनसिंह गुरुङ, फोरमका पूर्ववरिष्ठ उपाध्यक्ष ऋषि शर्मा, सल्लाहकार सीता देवकोटा र उपाध्यक्ष देवी काफ्लेबीच प्रतिस्पर्धा हुनेछ । फोरमले बुधबार साँझसम्म सदस्यता नवीकरण र नयाँ सदस्यताका लागि समय तोकेको थियो । सो अवधिभित्र ३ सय ६४ जना व्यवसायीले सदस्यता लिएको श्रेष्ठले बताए ।

फोरमको नियमअनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्षसहित ७ जना पदाधिकारी तथा १४ जना कार्यकारी सदस्य गरी २१ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ । शुक्रबार हुने साधारणसभालाई पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ ।

Featured