देश

विचौलियासँग जोगिन म्यानपावर कम्पनीलाई दूतावासको अपिल

काठमाडौं, माघ २३–मलेसियामा रहेको नेपाली दूतावासले मागपत्र प्रमाणीकरणसम्बन्धी नक्कली कागजात बनाएर म्यानपावर कम्पनीसँग रकम असुल्नेसँग जोगिन सबै म्यानपावरहरूलाई आग्रह गरेको छ । मागपत्र, करारपत्र, मागपत्र प्रमाणीकरणसँग सम्बन्धित नगदी रसिद, पावर अफ अटोमीलगायतका कागजात नक्कली बनाई म्यानपावर कम्पनीसँग रकम असुल्ने र ठग्ने गरेको सूचना प्राप्त भएको भन्दै दूतावासले सचेत हुन सबै इजाजतप्राप्त म्यानपावरको ध्यानाकर्षण गराएको हो ।

नेपाल र मलेसियाबीच भएको समझदारीअनुसार नेपाली श्रमिकको छनोटदेखि घर फिर्तीसम्मको रकम रोजगारदाताले नै व्यहोर्ने हुँदा कुनै पनि म्यानपावरले मागपत्र प्राप्त गर्न कुनै रकम तिर्नुपर्दैन । त्यसैले गैरकानुनी रूपमा नक्कली कागजात बनाएर रकम असुल्ने कोही भएमा सजग रहन र त्यस्तो कार्यको सूचना दिन पनि दूतावासले आग्रह गरेको छ । मागपत्र प्रमाणीकरणको कागजातको आधिकारिकता बुझ्न र कुनै शंका लागेमा दूतावासमा सम्पर्क गर्न सकिनेछ । दूतावासबाट प्रमाणीकरण भएका मागपत्र अनलाइन प्रणालीमा म्यानपावर कम्पनीलाई समेत जान्छ ।

Featured