देश

ललिता निवास प्रकरण : कसैलाई विभेद नगरेको सरकारका प्रवक्ताको भनाई

काठमाडौं, माघ २३–सरकारले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको छानविनदेखि मुद्दा दायरसम्ममा कसैलाई विभेद नगरेको दाबी गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गोकुल बाँस्कोटाले ललिता निवास जग्गा प्रकरणको छानविनमा ‘लाल फित्ताधारी र श्वेत फित्ताधारीको व्यवहार’ नगरेको दाबी गरे ।

कांग्रेस उपसभापति विजयकुमार गच्छदारमाथिको कारबाही पूर्वाग्रही भएको भन्दै कांग्रेस आन्दोलित बनेको बेला मन्त्री बाँस्कोटाले उनीमाथि विभेद नभएको दाबी पनि गरे । ‘यहाँ लालफित्ताधारी र श्वेत फित्ताधारीको व्यवहार भएको छैन । यो कानुन प्रयोजनको कुरा हो,’ बाँस्कोटाले भने । पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले कोरोना भाइरसको संक्रमण फैलिएको मुलुक चीनबाट ल्याउने नेपालीलाई काठमाडौंका शिवपुरी, इचंगुनारायण, सूर्य्विनायक, खरिपाटीमा क्वारेन्टाइनस्थल बनाई सोही स्थानमा राख्ने तयारी सरकारले सुरु गरेको जानकारी दिए ।

Featured