वीरेन्द्रनगर, माघ २३–वीरेन्द्रनगरस्थित सुर्खेत सिटी बसपार्क व्यवस्थापनको विषयलाई लिएर व्यवसायीहरू दायर गरेको रिटमा उच्च अदालत सुर्खेतले रिट निवेदनको प्रमाण पेस गर्न नगरपालिकालाई आदेश दिएको छ । उच्च अदालत सुर्खेतका न्यायाधीश नारायणप्रसाद श्रेष्ठ र कामु न्यायाधीश विनोद शर्माको संयुक्त इजलासले वीरेन्द्रनगर नगरपालिकालाई कागजपत्र पेस गर्न आदेश दिइएको हो ।
नगरपालिकाले बसपार्क व्यवस्थापनको जिम्मेवारी निजी कम्पनीलाई सुम्पिने तयारी गरेपछि सोही स्थानमा बसपार्क बन्नुअघि व्यवसाय गरिरहेका व्यावसायीहरू अदालत गुहार्न पुगेका थिए । ५४ व्यावसायीले पूर्व सर्त नगरपालिकाले लत्याउँदै निजी कम्पनीलाई दिन लागेको भन्दै सम्झौताअनुसार आफूहरूलाई व्यावसाय गर्न दिन माग गर्दे अदालतमा रिट दायर गरेका थिए ।
बुधबार अदालतले सोही सम्बन्धमा नगरपालिकालाई आवश्यक प्रमाण पेस गर्न आदेश दिएको उच्च अदालत सुर्खेतका सूचना अधिकारी वीरेन्द्रबहादुर मल्लले बताए । बसपार्क सञ्चालनका बिषयमा दुवै पक्षको बहसपछि उच्च अदालतले वीरेन्द्रनगर नगरपालिकालाई व्यवस्थापन प्रक्रिया तत्काल अघि नबढाउन आदेश जारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस