देश

नेकपा काभ्रेका नेता गिरी बानेश्वरमा मृत फेला

काठमाडौं, माघ २३–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काभ्रे जिल्लाका नेता हरिदेव गिरीको रहस्यमय मृत्यु भएको छ । नयाँबानेश्वरको आलोकनगरमा मंगलबार राति उनको शंकास्पद मृत्यु भएको हो । महानगरीय प्रहरी वृत्त, बानेश्वरका डीएसपी दुर्गाराज रेग्मीका अनुसार डि क्याफे एण्ड किचन रेष्टुरेन्टमा गम्भिर अवस्थामा भेटिएपछि उपचारका लागि लगिएको थियो ।

राति १० बजेतिर सिभिल अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषिणा गरेको डीएसपी रेग्मीले बताए । उनले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटी पनि घटनाको अनुसन्धानमा कुनै कसर बाँकी नराखिएको बताउँछन् । उनले प्रकरणको अनुसन्धानका क्रममा ४ जनालाई नियन्त्रणमा लिइएको बताए । ‘त्यसबेला त्यहाँ उपस्थित होटल सञ्चालक र कर्मचारीलाई सोधपुछका लागि नियन्त्रणमा लिएका हौं’, बोगटीले भने, ‘बानेश्वर वृत्तमा राखेर अनुसन्धान जारी छ ।’

उनका अनुसार गिरीको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएको छ । प्रारम्भिक अनुसन्धानमा उनको टाउको, घाँटी र तीघ्रामा चोट देखिएको छ भने खुट्टाको हड्डी पनि भाँच्चिएको देखिएको बोगटीको भनाइ छ । गिरी निकटस्थका अनुसार उनी मंगलबार बिहान ९ बजेदेखि नै उक्त होटलमा बसेका थिए । दिनभर मदिरा सेवन गरेका कारण उनी राति घर फर्किन सक्ने अवस्थामा पनि नरहेको उनी निकट स्रोतले बताएको छ । गिरि दशनामी समाजका केन्द्रीय कोषाध्यक्ष, रेन्बो स्कुलका संस्थापक तथा प्याब्सन भक्तपुरको सल्लाहकारसमेत थिए ।

Featured