देश

पर्वतीय पर्यटनबाट आर्थिक समृद्धि सम्भव छ :प्रचण्ड

काठमाडौं, माघ २२–नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपालमा पर्वतीय पर्यटनका माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन् । नेपाल पर्वतारोहण सङ्घद्वारा अन्तराष्ट्रिय पर्वतीय संग्रहालय परिसरमा आयोजित विश्व शान्ति पूजाको समापन एवम् संघको १७औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले पर्वतीय पर्यटनको उपयोग गर्दै देशमा आर्थिक समृद्धि एवम् विकास गर्न सकिने प्रचुर सम्भावना रहेको बताएका हन् ।

अध्यक्ष दाहालले पोखरास्थित संग्रहालयमा नेपालका हिमाली क्षेत्रमा रहने जातजातिका संस्कृति, परम्परा एवम् सभ्यतालाई प्रस्तुत गरिएको उल्लेख गर्दै यसको अवलोकनसँगै पर्वतीय पर्यटन, भूगोल आदिको अध्ययन गर्न चाहने जोकोही लाभान्वित हुने बताए । उल्लासका साथ भ्रमण वर्ष २०२० मनाइरहेको प्रसंग उल्लेख गर्दै उनले यसको सुरुवातमा चीनमा देखिएको कोरोना भाइरसको हल्लाका कारण पर्यटनमा सामान्य प्रभाव परे पनि यो चाँडै नै नियन्त्रणमा आउने विश्वास व्यक्त गरे ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अन्तराष्ट्रिय पर्वतीय संग्रहालयलाई व्यवस्थित एवम् प्रभावकारी रूपमा सञ्चालन गर्न सुझाव दिँदै यसमा प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग हुने प्रतिवद्धता व्यक्त गरे । नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले वार्षिक ३ लाख पर्यटकले संग्रहालय अवलोकन गरेको जानकारी कार्यक्रममा दिए । हिमाल आरोहणका क्रममा मृत्यु भएकाको आत्माशान्तिको कामना गर्दै तेस्रोपटक विश्व शान्ति पूजा गरिएको उनको भनाइ थियो । रासस

Featured