देश

अब धोएर मात्रै सवारीसाधन काठमाडौं उपत्यका छिर्न पाउने

काठमाडौं, माघ २२–सरकारले काठमाडौं भित्रिने सवारीसाधनले धुलो र हिलो भित्र्याएको भन्दै सरकारले काठमाडौं भित्रिन सवारीसाधन धोई पखाली मात्रै उपत्यका प्रवेश गराउने भएको छ । सवारीसाधन धुने ठाउँ वासिङ सेन्टरको निर्माण भएपछि उपत्यकामा सवारीसाधनले भित्र्याउने फोहोर कम हुने यातायात व्यवस्था विभागले जनाएको छ ।

उपत्यका भित्रिने निजी र सार्वजनिक सबै सवारीसाधन केन्द्रमा धोएर मात्रै उपत्यका छिर्ने व्यवस्था मिलाइने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । उनका अनुसार विभागले अहिले धादिङका विभिन्न स्थानमा जग्गा खोजी गरिरहेको छ । उपयुक्त जग्गा भेटिनासाथ केन्द्र निर्माण सु्रु हुने उनको भनाइ छ ।

अहिले झण्डै पाँच–छ ठाउँमा जग्गा हेरिरहेकोमा उपयुक्त स्थान छनोट हुने बताइएको छ । यसले गर्दा सवारीसाधनका कारण हुने धुलो र हिलो कम हुने विश्वास गरिएको छ । उपत्यकाबाहिरदेखि आउने सवारीसाधन मात्रै नभएर उपत्यकाभित्रै गुड्ने सवारीसाधनले समेत उपत्यकाका सडक फोहोर बनाइरहेको महानिर्देशक हमालले बताए ।

काठमाडौं उपत्यकाका सडक धुलो र हिलोका कारण उपत्यकावासी हैरान छन् । काठमाडौं महानगरपालिका, ललितपुर मानगरपालिका, सडक विभाग लगायतले सडकको धुलो सफा गर्नका लागि यान्त्रिक कुचो ब्रुमर सञ्चालन गरिरहेका छन् ।

सवारीसाधनबाटै भित्रिने फोहोर, निर्माण सामग्रीलगायतले दैनिक फोहोर भित्र्याउँदा सडक धुलो र हिलोमुक्त भने बन्न सकेको छैन । रासस

Featured