देश शिक्षा

बच्चाको हातमा खाजा, आमाको हातमा पैसा

झट्ट सुन्दा ‘बच्चाको हातमा खाजा, आमाको हातमा पैसा’ धेरैलाई सामान्य लाग्न सक्छ । तर त्यही खाजा प्रभावकारी बन्दै गएको छ । कपिलवस्तुको शिवराज नगरपालिकाले ल्याएको सामुदायिक विद्यालयमा अध्ययनरत प्रावि तहका विद्यार्थीको खाजाबापतको रकम विद्यार्थीका आमाले पाउने कार्यक्रम आमा बच्चाको पोषण र स्वास्थ्य सुधारमा प्रभावकारी बन्दै गएको हो ।

्नगरभित्र रहेका ६६ सामुदायिक विद्यालयमा ११ हजार २९६ विद्यार्थीलाई अहिले खाजाबापतको रकम वितरण गरिएको छ । नगरपालिकाका अनुसार उक्त कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षको पहिलो चौमासिकमा ६५ लाख र दोस्रो चौमासिकमा १ करोड १६ लाख आमाले बुझेका छन् । चालू आर्थिक वर्षमा खाजा कार्यक्रमका लागि ३ करोड ८४ लाख ८० हजार बजेट विनियोजन गरेको नगरपालिकाका शिक्षा शाखा अधिकृत पूर्ण विकले बताए ।

‘विद्यालयमै खाजा बनाएर खुवाउनुभन्दा उनीहरूका आमालाई खाजाबराबरको रकम दिएर खाजा बनाउन लगाउने कार्यक्रमले विद्यालयसँग बालबालिकाका र आमाको निरन्तर सम्पर्क हुन थालेको छ’, उनले भने, ‘यस कार्यक्रमले बालबालिका नियमित रूपमा विद्यालय आउन थालेको छन् भने उनका आमाले पनि विद्यालयको गतिविधिमा सहयोग गर्न थालेका छन् । यसले विद्यालयमैत्री वातावरण निर्माणमा सहयोग र्पुयाएको छ ।’

पहिला बेवास्ता गर्ने आमाले अहिले आफ्ना बालबालिका खाजा बनाएर पठाउने गरेको शिक्षक विष्णु भण्डारीले बताए । जिल्लामा रहेका ६ सयभन्दा बढी सामुदायिक विद्यालयमा खाजा कार्यक्रम लागू भएको छ । विद्यालय जाँदा चाउचाउ, चाउमिन, नमकिन जस्ता तयारी खाजा लैजाने बालबालिकाको हातमा हिजोआज घरमै पकाएको खाजा राखेको डब्बा हुन्छ । विद्यालयमा यो कार्यक्रम लागू गरेपछि विद्यार्थीको संख्या बढेको छ ।रासस

Featured