देश

सुक्खा पहिरोका कारण मालढुंगा–टाकुरी सडकखण्ड अवरुद्ध

बाग्लुङ, माघ २२–सुक्खा पहिरोका कारण कालीगण्डकी कोरिडोरको बागलुङ खण्डअन्तर्गत मालढुंगा–टाकुरी सडकखण्ड अवरुद्ध भएको छ । बागलुङ नगरपालिका–१३, गलुवामा बुधबार बिहान ६ बजे खसेको सुक्खा पहिरोले सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएका कारण जिल्ला सदरमुकाम बागलुङबजारदेखि दक्षिण जैमिनी र बरेङ गाउँपालिकामा चल्ने सवारीसाधन रोकिएका छन् ।

वैकल्पिक मार्गबाट सवारी पठाउने तयारी भइरहेको भए पनि बागलुङ–कुश्मिशेरा कृषि सडक कालोपत्रको काम चलिरहेको र मालढुंगा–लहरेबर–गिठे–कुश्मीशेरा खण्डमा समेत सडक ढलानको काम भइरहेका सावारीसाधन आवतजावतमा अवरोध भएको हो । बिहानदेखि रोकिएका सवारीलाई सहज आवातजावतको व्यवस्था मिलाउने प्रयास भइरहेको प्रहरी निरीक्षक दीपक रिजालले बताए ।

सुक्खा पहिरो हटाएर कोरिडोर खुलाउने प्रयाससमेत थालिएको छ । बागलुङ–कुश्मिशेरा सडकखण्डमा कालोपत्रको काम गरिरहेको निर्माण कम्पनी कर्ण बिल्डर्सले डोजर पठाएर अवरोध हटाउने काम थालेको जनाएको छ । सडक अवरुद्ध हुँदा दक्षिण बागलुङमा चल्ने साना तथा ठूला गरी झण्डै २ सय सवारीसाधन प्रभावित भएका छन् । रासस

Featured