खेलकुद विदेश

नेइमारबिनै पीएसजी विजयी, लिगमा १५ अंकको अग्रता

एजेन्सी, माघ २२–नेइमार बिनाको खेलमा पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले संघर्षपूर्ण जित निकालेको छ । फ्रेन्च लिग वान फुटबल अन्तर्गत गएराति भएको खेलमा पीएसजी नान्टेसलाई २–१ ले पराजित गरेको हो । अवे मैदानमा भएको खेलमा पीएसजीलाई जित दिलाउन माउरो इकार्डी र थिलो खेराले गोल गरे । नान्टेसका लागि सिमोनले एक गोल फर्काए । बुधबार २८ औं वर्षमा प्रवेश गरेका नेइमारले पेरिसमा जन्मदिनको भव्य पार्टी दिएका थिए ।

करङमा समस्या रहेका बेला पार्टी दिएका नेइमारलाई प्रशिक्षक थोमस टुसिलले नान्टेससँगको खेलमा राखेनन् । तर पार्टी र टिममा नेइमार समावेश नगरिनुमा कुनै सम्बन्ध नरहेको प्रशिक्षकको दाबी छ । जितपछि पीएसजीले लिगमा १५ अंकको अग्रता लिएको छ । शीर्ष स्थानको पीएसजीको २३ खेलबाट ५८ अंक भएको छ भने दोस्रो स्थानको मार्सेलीको ४३ अंक छ ।

Featured