देश

द्वन्द्वपछि जागेको बुर्तिबाङ

बागलुङ, माघ २२–बागलुङको डोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङमा द्वन्द्वको समयमा ५०÷६० घर भएको सम्झना गर्छन्, स्थानीय । उनीहरूका अनुसार त्यो बेला घरहरू एकदमै कम थिए, व्यापार–व्यवसाय खासै थिएन । भएका घरहरूमा पनि एकदमै कम मान्छे बस्थे । तर बुर्तिबाङ पहिलेको जस्तो गाउँ रहेन, सहर बनेको छ । नेपालमा शान्ति–प्रक्रिया अघि बढेपछि सहर पसेकाहरू गाउँ फर्किए। गाउँगाउँबाट बसाइ सरेर बुर्तिबाङ आउनेको संख्या बढ्यो । गाउँमा सडक आइपुग्यो, सरकारले नयाँ सहरका रूपमा बुर्तिबाङलाई विकास गर्ने घोषणा गर्यो।

अहिले ठूलाठूला घर, बैंक, वित्तीय संस्था, सुविधा–सम्पन्न होटलमात्र बनेका छैनन् घर बन्ने र सहरीकरण हुने क्रम पनि तीव्र छ । अहिले बुर्तिबाङमा हजारभन्दा धेरै घर बनिसकेका देखिन्छन् । अग्लाअग्ला थपिँदै, परम्परागत घर विस्थापित हुँदै गएका छन् । सहरी सुविधाहरू एकपछि अर्को जोडिँदै छन् । बाग्लुङ सदरमुकामदेखि ९० किलोमिटर पर मध्यपहाडी लोकमार्गको छोएको यो बजार शान्ति–प्रक्रियापछि जागेको हो । द्वन्द्वमा थातथलो छोडेकाहरू पुनः फर्किए, अन्य गाउँबाटसमेत बसाइ सरेर मान्छेहरू थपिए ।

द्वन्द्वको समयमा वैदेशिक रोजगारीमा रहेका झगबहादुर शाहीले फर्किएपछि जग्गा किनेर होटल खोले । ‘शान्ति प्रक्रियापछि गाउँमै बस्ने रहर लाग्यो। कमाएको पैसा लगानी गरेर होटल खोलेको हुँ। जग्गा र होटलका लागि डेढ करोडको लगानी गरें’ स्काई होटलका सञ्चालक रहेका शाहीले भने, ‘चहलपहल यहीं छ। सरकारी काम पनि यहीं हुने हुँदा निकै सजिलो भएको छ।’ नागरिक दैनिकबाट

Featured