देश

स्वदेशमै अलैँचीको खपत बढाउन पहल

पाँचथर, माघ २१–अलैँचीको उचित बजार मूल्यका लागि स्वदेशमा खपत बढाउन पहल गरिने भएको छ । पूर्वी पहाडमा ठूलो मात्रामा उत्पादन हुने अलैँचीले बजार र उचित मूल्य नपाएका बेला अलैँचीको खपत बढाउन पहल थालिने भएको हो । अहिले नेपालमा उत्पादन हुने अलैँचीको करीब एक प्रतिशत मात्रै स्वदेशमा खपत हुने गरेको नेपाल अलैँची व्यवसायी महासंघको तथ्यांक छ ।

अलैँचीबाट गरम मसला, चिया मसला, गोटा अलैँचीलगायत उत्पादन गरी बिक्री गर्ने तयारी थालिएको हो । पाँचथरको फालेलुङ गाउँपालिकामा अलैँची खेतीमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत अलैँचीको स्वदेशमै खपत हुने परिकार उत्पादन थालिने भएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैँची विकास जोनका कार्यक्रम संयोजक प्रकाश विश्वकर्माका अनुसार मसलालगायत खाद्य परिकार उत्पादनको प्रयास सुरु भएको हो । फालेलुङ–१ मा अलैँचीको गरम मसला उद्योग स्थापना गरी उत्पादन थालिएको छ । यहाँ उत्पादित गरम मसलाको गुणस्तरबारे परीक्षण एवं अनुसन्धानका लागि खाद्य गुणस्तर विभागमा पठाइएको छ ।

परियोजनाअन्तर्गत नै अलैँचीको गरम मसला र चिया मसला उत्पादन गर्न कृषकलाई तालिम दिने तयारीसमेत गरिएको विश्वकर्माले जानकारी दिए । अलैँचीको गरम मसलाले अन्य गरम मसलालाई प्रतिस्थापन गर्ने तथा गोटा अलैँची प्याकेटले सुकुमेललगायत विदेशबाट आयात हुने सामग्रीलाई प्रतिस्थापन गर्ने विश्वास लिइएको विश्वकर्माले बताए ।(रासस)

Featured