देश

गण्डकी प्रदेशले सुरु गर्यो विषादी परीक्षण

पोखरा, माघ २१–गण्डकी प्रदेश सरकारले उपभोक्ताले दैनिक रूपमा प्रयोग गर्ने तरकारी तथा फलफूलको विषादी परीक्षण सुरु गरेको छ । प्रदेशको राजधानी पोखरा भित्रिने नाकाहरूमध्येको सिद्धार्थ राजमार्गमा पर्ने स्याङ्जाको गल्याङ र पृथ्वी राजमार्गअन्तर्गत पर्ने तनहुँको आँबुखैरहनीमा ‘विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला’मा विषादी परीक्षण सुरु गरेको हो ।

केही समयपहिले सरकारले भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण रोकेपछि सर्वोच्च अदालतले सरकारका नाउँमा परीक्षण नरोक्न आदेश गरेपछि केही प्रदेशहरूले धमाधम विषादी परीक्षण थालेका थिए । तर, लामो समयको मौनतापछि गण्डकी प्रदेश सरकारले पनि भारतबाट भित्रिने तरकारी र फलफूलको विषादी परीक्षण सुरु गरेको हो ।

संघीय सरकारले काठमाडौंको कालिमाटीसहित रूपन्देहीको बुटवल, झापाको बिर्तामोड, सर्लाहीको नवलपुर, कास्कीको पोखरा र बाँकेको नेपालगञ्जमा ‘विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला’ स्थापना गरिसकेको छ । यीमध्ये केही स्थानका प्रयोगशाला सञ्चालनमा आइसकेका छन् । पोखरालगायतका केही ठाउँहरूमा आवश्यक कर्मचारीको व्यवस्था हुन नसक्दा प्रयोगशाला स्थापना भएर पनि सञ्चालनमा आउन सकेका छैनन् ।

Featured