देश

चितवनमा फेरि नयाँ एसपी

काठमाडौं, माघ २१–एक महिनादेखि नेतृत्वविहीन बनेको जिल्ला प्रहरी कार्यालय चितवनको एसपीमा प्रहरी उपरीक्षक (एसपी) नान्तिराज गुरुङलाई पठाइएको छ । चितवनमा सरुवा गरिएकी एसपी गंगा पन्त राजनीतिक दबाबका कारण चितवन जान नसकेपछि प्रहरी प्रधान कार्यालयले गुरुङलाई पठाएको हो । यसअघि चितवन सरुवा गरिएकी एसपी पन्तलाई पर्सा पठाइएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार सोमेन्द्रसिंह राठौरलाई काठमाडौं परिसर, कृष्ण पङ्गेनीलाई बारा र अशोक सिंहलाई हेडक्वार्टरमा सरुवा गरिएको छ । सवैको काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रधान कार्यालयले गत ४ पुसमा २५ जना एसपीको सरुवा सूची सार्वजनिक गरेको थियो ।

चितवनका तत्कालीन एसपी दानबहादुर मल्ललाई विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा सरुवा गरी सो ठाउँमा पन्त पठाइएको हो । मल्लले लामो समय सरुवा भएर अन्त जान नमानेपछि पन्तलाई पठाउँदै उनलाई २४ घण्टाभित्र जिल्ला छाड्न भनिएपनि राजनीतिक दवावका कारण पन्त जान सकिनन् ।

Featured