देश

‘कमजोर संरचना निर्माण गर्नेलाई कारबाही गरौँ’

काठमाडौं, माघ २१–कमसल निर्माण सामग्री प्रयोग गरी कमजोर संरचना निर्माण गर्ने निर्माण व्यवसायीलाई कालो सूचीमा राखेर कारबाही गर्नुपर्नेमा सांसदहरूले जोड दिएका छन् । संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा निर्माण व्यववसायीहरूसँग छलफल गर्दै सांसदहरूले गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग गर्ने निर्माण व्यवसायीलाई कालो सूचीमा राखेर कारबाही गर्नु उचित भएको बताएका हुन् ।

समिति सभापति कल्याणीकुमारी खड्काले भुलवश कमसल सामग्री पर्न जाने भन्ने कुरा मान्न नसकिने बताउँदै अहिलेसम्मको स्थिति हेर्दा व्यवसायीहरूले मिलेमतोमा कमसल निर्माण सामग्री प्रयोग गर्ने गरेको पाइएकाले त्यस्ता निर्माण व्यवसायीहरूलाई कालो सूचीमा राख्ने व्यवस्था उचित भएको बताइन् ।

उनले जनप्रतिनिधिहरू नै ठेकेदार भएका कारण मिलेमतो बढी हुने गरेको बताइन् । उनले भनिन्, ‘जनप्रतिनिधिलाई ठेकेदार बनाउन पाइँदैन, यो प्रस्टै कुरा हो, कोही संलग्न छ भने उसले पनि अब ठेकेदारी गर्नु हुँदैन, ठेकेदारी गर्ने हो भने ठेकेदारी नै गर्नुपर्छ अथवा निर्माण व्यववसायी नै हुनुपर्छ, ऊ व्यावसायिक हुनुपर्छ ।’

Featured