देश

आगलागीबाट एक महिलाको मृत्यु

जुम्ला, माघ २१–जुम्लामा सोमबार राति आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ । कनकासुन्दरी गाउँपालिका–२ मालिकाबोतामा आगलागी हुँदा महिलाको मृत्यु भएको हो । एम ऐडीको एकतले गोठमा आगलागी हुँदा उनकी ४५ वर्षीया पत्नी भटेनी ऐडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए ।

उनले भने, ‘आगलागीबाट एक गोरु र एक कुखुरासमेत जलेर मरेका छन्, हिजो राति १० बजेतिर गोठमा आगो लाग्दा गोठमा गोरु फुकाउन गएकी ऐडीको पनि निसास्सिएर मृत्यु भएको हो ।’ आगलागी भएको स्थलतर्फ प्रहरी निरीक्षकसहित ७ जनाको टोली पठाइएको प्रहरी नायब उपरीक्षक धामीले बताए । प्रहरी पुगेपछि घटनाको पूर्ण विवरण आउने प्रहरीले जनाएको छ ।

Featured