देश

तीनपिप्ले–गल्छी सडक र कोल्पुमा नयाँ सहर निर्माण प्राथमिकतामा : मन्त्री मानन्धर

काठमाडा, माघ २१–सहरी विकास राज्यमन्त्री रामबीर मानन्धरले तीनपिप्ले–गल्छी सडक आयोजनालाई प्राथमिकतामा राख्ने प्रतिवद्वता जनाएका छन् । नुवाकोटको बन्चरेडाँडा–चाउथे सडकको अवलोकनका लागि पुगेका मन्त्री मानन्धरले चीनको केरुङबाट आउने अन्तर्रा्ष्ट्रिय राजमार्गको गल्छिदेखि काठमाडौं उपत्यका भित्रन छोटो दुरी पर्ने गल्छि–उथे–तिनपिप्ले–बालाजु सडक निर्माणलाई आफुले प्राथमिकता दिने बताए ।

उनले आगामी आर्थिक वर्षदेखि यो सडक निर्माणका लागि आवश्यक कार्य आरम्भ गर्ने प्रतिवद्वता समेत जनाएका छन् । धादिङको गल्छीबाट हालको मुख्य राजमार्ग हुँदै थानकोट आइपुग्न कम्तिमा ६० किलोमिटर पार गर्नुपर्दछ । तर, यो मार्ग निर्माण भए करिब १५ किलोमिटर बाटो छोटो हुने छ । यस्तै मन्त्री मानन्धरले बन्चरेडाँडास्थित ल्याण्डफिल्डसाईट काठमाडौं जाने बाटोको दुरी पनि ९ किलोमिटर छोटो बनाउने वैकल्पिक मार्ग निर्माण गर्न सकिने बताए ।

मानन्धरले उपत्यकाको जनधनत्व कम गर्न र उपत्यका बाहिर पनि व्यवस्थित सहरीकरणका लागि सरकारले विभिन्न प्रयास थालेको बताए । टोखा–छहरे सुरुङ मार्ग निर्माण स्थल छहरेदेखि ढिकुरे–देवीघाट–महादेवफाँट–गल्छी हुँदै तीनपिप्ले निस्कनेगरी उपत्यकालाई बाहिरी जिल्लाबाट घेर्ने चक्रपथ निर्णाणको सम्भाव्यता अध्ययनका लागि आफूले पहल थाल्ने प्रतिबद्धता जनाए ।

विकासको पहिलो आधारका रुपमा सडक रहेको बताउँदै उच्च गतिका व्यवस्थित सडकसँगै नयाँ सहरहरु निर्माण गर्न सकिने मन्त्री मानन्धरको भनाई छ । मन्त्री मानन्धरले गल्छि–तिनपिप्ले सडकको निर्माणसँगै कोल्पुखोलादेखि चाउथेफाँटसम्म नयाँ सहर बसाउन सकिने बताए ।

Featured