विदेश

बाबुलाई अलग्गै राखेपछि अपांगता भएका किशोरको मृत्यु

एजेन्सी, माघ २१–चीनमा कोरोनाभाइरस संक्रमण भएको आशंकामा एक जनालाई सेरब्रल पोल्जी अर्थात् मस्तिष्कको पक्षाघात भएका उनका छोराबाट अलग्ग्याइएपछि ती किशोरको मृत्यु भएको छ। अपांगता भएका ती १६ वर्षीय किशोरको स्याहारसुसार गर्ने अरू कोही थिएनन् । पिता र भाइबाट छुट्याएर एक्लै राखिएका यान चेङ गत बुधवार मृत फेला परेको बताइएको छ । सो अवधिमा उनलाई दिनमा दुई पटक मात्र खुवाइएको बताइएको छ।

किशोरको मृत्युको विषयलाई लिएर दुई अधिकारीलाई पदमुक्त गरिएको छ। कारबाहीमा पर्नेमा चिनियाँ कम्युनिस्ट पार्टीका स्थानीय सचिव र हुएच्याहका नगरप्रमुख छन् । यान चेङबारे सामाजिक सञ्जालमा व्यापक चर्चा भएको छ । उनको परिवार कोरोनाभाइरस प्रकोपको केन्द्रबिन्दु मानिएको हुबे प्रान्तमा बसोबास गर्दै आएको थियो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार आफूलाई यान चेङछोबाट छुट्याइएपछि उनका पिताले लोकप्रिय चिनियाँ सामाजिक सञ्जाल वेबोमा सहयोगको याचना गर्दै लेखेका थिए । उनका अनुसार यान चेङलाई खानेकुरा र पानीबिना एक्लै छोडिएको थियो। सेरब्रल पोल्जी बाल्यकालदेखि नै देखिन्छ। सो परिस्थिति भएका मानिसमा हिँडडुल र शारीरिक समन्वयको समस्या हुन्छ। चिनियाँ अधिकारीहरूले ती किशोरको मृत्युबारे छानबिन हुने घोषणा गरेका थिए । कोरोनाभाइरसको संक्रमण फैलिएपछि चीनमा कम्तीमा ४ सय २५ जनाको मृत्यु भइसकेको पुष्टि भएको छ भने २० हजार भन्दा बढीमा संक्रमण भएको पुष्टि भएको छ।

Featured