देश

भारतीय पर्यटक मृत्यु प्रकरण :छानबिन समितिले भोलि प्रतिवेदन बुझाउने

काठमाडौं, माघ २०–मकवानपुरको दामनमा रहेको एभरेष्ट पानोरमा रिसोर्टमा ८ भारतीय नारिकको मृत्यु भएको विषयमा अध्ययन गर्न गठित छानबिन समितिले मंगलबार (भोलि) सरकारलाई प्रतिवेदन बुझाउँदै छ । रिसोर्टमा बसेका भारतीय पर्यटकको माघ ७ गते हिटरमा निसास्सिएर मृत्यु भएपछि सरकारले तत्कालै पर्यटन विभागका निर्देशक सुरेन्द्र थापाको संयोजकत्वमा समिति गठन गरेको थियो ।

समितिमा स्वास्थ्य मन्त्रालयबाट डा. ज्ञानेन्द्र चौधरी (वीर अस्पताल), पर्यटक प्रहरीबाट प्रहरी निरीक्षक अस्मिता कपाली, होटल संघबाट युवराज श्रेष्ठ र पर्यटन विभागको होटल शाखाका शाखा अधिकृत तिलक रिजाल सदस्य छन् । समितिले भारतीय पर्यटकको निधन हुनुका कारण, होटलको पूर्वाधारलगायत विषयको अध्ययन गरी सरकारलाई सुझाव दिनेछ ।

पर्यटन वर्षको सुरूवातमै हिटरमा निसास्सिएर पर्यटकको मृत्यु भएपछि होटलको पूर्वाधारलगायत विषयमा गम्भीर प्रश्न उठेको थियो । पर्यटकको मृत्यु भएपछि होटललाई कस्तो कारबाही गर्ने र मृतकका परिवारलाई कसरी क्षतिपूर्ति दिने भन्ने विषयमा सरकार पनि अन्योलमा देखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले छानबिन समितिको सुझावका आधारमा निर्णय लिइने बताएका छन् ।

Featured