देश

१३८ स्थानीय तहमा हात्तीपाइलेविरुद्ध औषधि सेवन अभियान

काठमाडौं, माघ २०–स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले माघ २५ देखि १३ जिल्लाका १३८ स्थानीय तहमा हात्तीपाइले रोग निवारणका लागि औषधि सेवन अभियान सञ्चालन गर्ने भएको छ । महाशाखाका अनुसार झापा, मोरङ, धनकुटा, बारा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा अभियान सञ्चालन गर्न लागिएको हो ।

महाशाखाका निर्देशक विवेककुमार लालले देशका ६३ जिल्ला हात्तीपाइलेको जोखिममा रहेको बताए । ‘५० जिल्लामा हात्तीपाइले निवारण भइसकेको छ । बाँकी १३ जिल्लामा अभियान सञ्चालन गर्न लागिएको हो,’ उनले भने । रोग निवारण भइसकेका जिल्लाहरुको पछिल्लो अवस्थाबारे पनि सर्वेक्षण भइरहेको उनले जानकारी दिए ।

यस पटकको अभियानमार्फत ७४ लाख ६१ हजार जनसंख्यालाई सेवा पुर्याउने लक्ष्य लिएको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. रोशन पोखरले बताए । स्थानीय तह स्तरमा तयारीका कार्यक्रमहरु सञ्चालन भइरहेको र स्वास्थ्य संस्थामा औषधिहरु पुगिसकेको उनले जानकारी दिए ।

Featured