देश

हत्या आरोपमा श्रीमानसहित सासु, ससुरा र नन्द पक्राउ

धनुषा, माघ २०–धनुषाको औरही नगरपालिका–२ का २२ वर्षीय चिन्तामणी कुमारी पासवानको हत्या आरोपमा उनकै श्रीमानसहित ४ जना पक्राउ परेका छन् । गत शनिबार साँझ मोबाइलमा हाल्ने मेमोरी कार्डको विषयमा विवाद हुँदा पासवानको हत्या गरेको आरोपमा पक्राउ परेकाहरुलाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ । पक्राउ परेकामा ३० वर्षीय श्रीमान अनिल कुमार, ५५ वर्षीय ससुरा राधाकृष्ण, ४५ वर्षीय सासु कुमला देवी र २० वर्षीय नन्दा पुनिता रहेका छन् ।

उनीहरुले मृतक चिन्तमणी कुमारीलाई कुटपीट गर्दै घाँटी थिचेर हत्या गरेपछि झुण्डिएर आत्महत्या गरेको भन्दै अटोरिक्सामा राखेर प्रादेशिक अस्पताल जनकपुर पुर्याएको माइती पक्षको आरोप छ । प्रहरीका अनुसार अस्पतालबाटै फरार भएका सासु कुमला देवी र नन्दा पुनितालाई प्रहरीले जनकपुरधाम–४ पेठीया बजारबाट माघ १९ गते साँझ पक्राउ परेका हुन् ।

अनिल र राधाकृष्णलाई खोजतलासको क्रममा धनुषाको जनकनन्दनी गाउँपालिका– २ बलहा टोलमा लुकिछिपी बस्दै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी रमेशकुमार बस्नेतले जानकारी दिए । सिरहाको विष्णुपुर( ५ लक्ष्मीपुर माइत भएकी चिन्ताले शनिबार साँझ बुवा दुखी पासवानलाई फोन गरेर आफूमाथि श्रीमान र सासु लगायतले कुटपीट गर्दै आएकाले माइत आउन चाहेको बताएकी थिइन् ।

Featured