देश

चुरे क्षेत्रमा अवैध उत्खनन गर्न गएका ४ जना पक्राउ

जनकपुर, माघ २०–धनुषाको मिथिला नगरपालिकास्थित एक खोलामा अवैधरुपमा बालुवा गिट्टी उत्खनन कार्यको विरोध गर्दा दिलीप महतोको हत्या भएको महिना दिन नबित्दै सो क्षेत्रमा पुनः अवैध रूपमा बालुवा गिट्टी उत्खनन कार्य फेरि सुरु भएको छ । धनुषाको चुरेक्षेत्रमा फेरि अवैध उत्खनन हुन थालेको खबर पाएलगत्तै प्रहरीले करिब आधा दर्जन सामग्रीसहित ४ जनालाई नियन्त्रणमा लिएको छ ।

धनुषा–सिरहाको सीमाक्षेत्र भएर बग्ने कमला नदीको चुरे क्षेत्रबाट अवैध उत्खनन गर्ने टिपर र जेसीभी आइतबार मध्यरातमा प्रहरीले नियन्त्रणमा लिएको हो । चुरे क्षेत्रस्थित कमला नदीको उतराहिनीमा ग्राभेल तथा ढुंगा उत्खनन गरिरहेको बेला धनुषाका प्रहरीले ४ वटा टिपर, १ जेसीभी र ४ जना चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक तीर्थ कार्कीले जानकारी दिएका छन् ।

बा३ख ७६००, बा १ ख २९३९, ना२ख २८४ र ना २ क २७८ नम्बरको चार टिपर र बा २ का २९८७ नम्बरको एउटा जेसीभी नियन्त्रणमा लिएको प्रहरी निरीक्षक कार्कीले जनाए । पक्राउ पर्नेमा ३ जना टिपरका चालक र १ जना जेसीभीका चालक छन् । १ जना टिपरका चालक भने फरार भएका प्रहरी निरीक्षक कार्कीले बताए । प्रहरीले नियन्त्रणमा लिएको टिपर र जेसीभी जनकपुरधाम उपमहानगरपालिका– १४, मुजेलियास्थित उपेन्द्र साहले संचालन गरेको मिथिला कन्ट्रक्सनले उत्खननका लागि ठेक्का लिएको पाइएको छ ।

Featured