देश

चीनमा रहेका १८० जनालाई नेपाल फर्काइने, कोरोना देखिए चीनमै उपचार

काठमाडौ, माघ २०–सरकारले चीनमा रहेका नेपालीलाई स्वास्थ्य परीक्षण गरेर मात्रै स्वदेश ल्याउने तयारी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल फर्किनका लागि आइतबार बिहानसम्म १ सय ८० जनाले फाराम भरेको र उनीहरू सबैको स्वास्थ्य परीक्षण गरी स्वदेश ल्याइने जनाएको छ ।

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले फारम भरेका सबैको स्वास्थ्य परीक्षण हुने बताए । परीक्षणका क्रममा संक्रमण देखिएकाहरूलाई चीनमै राखेर उपचार गरिने उनले जानकारी दिए । ‘त्यहाँ पनि सबैको स्वास्थ्य जाँच हुन्छ । यदि पोजेटिभ देखियो भने चीनले पठाउँदैन, त्यहीँ उपचार हुन्छ । बाँकी अन्यलाई फिर्ता गरिन्छ’, उनले भने । अहिलेसम्म सबै सुरक्षित रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । नेपाल फर्काएपछि उनीहरूलाई क्वारेन्टाइनमा राखिने उनले बताए ।

मन्त्रालयले उनीहरूलाई राख्ने ठाउँको पहिचान भइरहेको जनाएको छ । मंगलबर बेलुकीसम्म ठाउँ यकिन हुने प्रवक्ता श्रेष्ठले बताए । मन्त्रालयले तीन तहमा समिति बनाएर अध्ययन गरिरहेको बताउँदै उनले फर्काइएका नेपालीलाई दुई सातासम्म क्वारेन्टाइनमा राखिने बताए ।

Featured