देश

बुद्ध एयरको पोखरा–विराटनगर सिधा उडान सुरू

पोखरा, माघ २०–बुद्ध एयरले पोखराबाट विराटनगरका लागि उडान सेवा सुरु गरेको छ । पोखरा–काठमाडौं, पोखरा–भैरहवा, पोखरा–भरतपुरसम्म सिधा हवाई सेवा सञ्चालन गर्दै आएको बुद्ध एयरले सोमबारदेखि पोखरा–विराटनगर सेवा सुरु गरेको हो । पहिलो उडानमा पोखराबाट १८ जना यात्रु लिएर विराटनगर उडेको जहाजले विराटनगरबाट पनि १८ यात्रु लिएर पोखरा आएको बुद्ध एयर पोखराका स्टेसन म्यानेजर गौतम बरालले जानकारी दिए ।

उनले पहिलो चरणमा हप्तामा तीन दिन सोमबार, बुधबार र शुक्रबार उडान भर्ने बताए । ‘दैनिक उडान सञ्चालन गर्न केही दिन लाग्छ,’ उनले भने । नेपाल भ्रमण वर्षलाई लक्षित गरी पोखरादेखि विराटनगर उडान सेवा सुरु गरिएको उनको भनाइ छ । पोखरा–विराटनगरको हवाई यात्रामा १ घण्टाको समय लाग्ने छ । उडान शुल्क नेपाली र भारतलाई ६ हजार २ सय रुपैयाँ कायम गरिएको छ । यसैगरी विदेशीलाई १ सय ३० डलर लाग्ने बरालले बताए । पोखराबाट ११ बजेर ४५ मिनेट र विराटनगरबाट १ बजेर १० मिनेटमा उडान हुने उनले बताए ।

Featured