देश

चिकित्सक संघको कार्यकारिणी समितिका लागि मतदान जारी

काठमाडौं, माघ २०–नेपाल चिकित्सक संघको २८औँ कार्यकारिणी समितिका लागि सोमबार पनि मतदान जारी छ । संघको केन्द्रीय कार्यालय काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी मार्गमा पाँच दिनका लागि मतदान तय भए अनुसार चौथो दिन सोमबार पनि मतदान जारी रहेको केन्द्रीय निर्वाचन अधिकृत डा. योभिनकुमार यादवले बताए । यादवले दुई चरणमा निर्वाचन गरिएको र पहिलो चरणमा उपत्यकाबाहिरका १६ वटै शाखामा आइतबार नै मतदान सम्पन्न भइसकेको बताए । पहिलो चरणमा ३ दिनसम्म भएको मतदानमा कुल २ हजार ८ सय ५१ मत खसेको उनले जानकारी दिए ।

दोस्रो चरणअन्तर्गत उपत्यकामा भएको मतदानको तेस्रो दिन आइतबारसम्म १ हजार १ सय ६१ मत खसेको उनले बताए । संघको चुनावमा कुल १३ पदका लागि दुई प्यानल मैदानमा उत्रिएका छन् । लोकतान्त्रिक समूहतर्फ डा. लोचन कार्कीको समूह र प्रगतिशील समूहतर्फ डा.पुष्पमणि खरालको समूह निर्वाचनमा होमिएका छन् । त्यस्तै, महासचिवमा २ जना र सदस्यमा २ जना चिकित्सकले स्वतन्त्र उम्मेद्वारी रहेको यादवले बताए । चिकित्सक संघमा कुल ९ हजार ९ सय १६ मतदाता रहेका छन् । मतदान सम्पन्न भएपछि मात्र मतगणना सुरु हुने यादवले जानकारी दिए । मतदान मंगलबारसम्म जारी रहनेछ ।

Featured